विराटनगर । ‘टिकटक क्विन’ उपनामले परिचित नायिका तथा मोडल रेश्मा घिमिरे बैवाहिक बन्धनमा बाँधिने भएकी छन् । रेश्माले आफ्नो प्रेमी डा.प्रभात बासुसँग बुधबार विराटनगरमा इन्गेजमेन्ट गरेकी छन् ।
पछिल्लो समय नेपाली म्युजिक भिडियोमा छाएकी रेश्माको बुधबार विराटनगरको होटल रत्नामा नजिकका आफन्तहरुको उपस्थितिमा इन्गेजमेन्ट गरिएको हो । नेपाली माझ उनी टिकटकमा समेत लोकप्रिय रहेकी छन् । इन्गेजमेन्टमा करिब २५ जना जतिको उपस्थिति रहेको थियो । नर्सिङ अध्ययन गरेकी रेश्माका प्रेमी डा.प्रभात पेशाले चिकित्सक हुन । उनी अमेरिकामा बस्दै आएका छन् ।
विराटनगरमा नियमित हुँदै आएको मिस पूर्वेली सुपर मोडलको बिजेता समेत रहेकी रेश्मा र प्रभातबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको नजिकका आफन्तको भनाई छ । उनको प्रेमीको स्थायी घर भने काठमाण्डौमा रहेको छ । रेश्मा भने विराटनगर निवासी हुन ।
उनीहरुको विवाहको मिति भने तय गरिएको छैन । रेश्माका नजिकका आफन्तका अनुसार उनीहरुको विवाह हुन करिब ६ महिना लाग्न सक्छ । ‘कोरोनाका कारण इन्गेजमेन्टमा केटाका बुवा आमापनि अमेरिका आउनु पाउनु भएन ।’ नजिकका आफन्तले विराटपथसँग भने,‘विवाह हुन, संम्भंवत ६ महिना लाग्न सक्छ ।’