विराटनगर । उपभोक्ताले खरिद गरेको कोशी ग्यासको सिलिण्डरमा तौल कम भएको बिषयमा त्यसमा आफ्नो कुनै बदमासी र नियत नरहेको कम्पनीले जनाएको छ । कम्पनीले पछिल्लो समय अटोमेटिक प्लान्टबाट ग्यास भर्ने कार्य गर्दै आएको उल्लेख गर्दै तौल कमि हुने संम्भावना नै नरहेको प्रष्ट पारेको छ ।
विराटनगर महानगरपालिका–२ तीनपैनीका उपभोक्ता रतनकुमार बर्माले खरीद गरेको कोशी ग्यासको सिलिण्डरमा तीन किलो ३०० ग्राम कम पाइएको थियो । बर्माले खरिद गरेको दुईवटा सिलिण्डर मध्ये एउटामा तौल ठिक र एउटामा तौल कमि रहेको थियो ।
भरिएको ग्यास सिलिण्डरको तौल २९ किलो ६ सय ग्राम हुनुपर्ने हुन्छ । कम्पनीले प्रत्येक सिलिण्डरमा १४ किलो २ सय ग्राम ग्यास भरेर बजारमा पठाउने गर्दछन् । तर सो सिलिण्डरमा ग्याससहित २६ किलो ३ सय ग्राम मात्र पाइएको थियो ।
कोशी ग्यासका ब्यवस्थापक सचित उपाध्यायले अटोमेटिक प्लान्टबाट एक लटमा १० हजार सिलिण्डर भर्ने गरेको जनाउँदै भने, ‘ग्यास रिफिल गर्दा ५० ग्राम तौल तल माथि हुनसक्छ । तर भारी परिणाम ग्यास कम हुँदैन । फेरि एक सिलिण्डरमा तीन किलो ग्यास कम भए लटका सबै सिलिण्डरमा ग्यास कम हुन्छ, तसर्थ उद्योगबाट ग्यास कम्ति भरिन् सक्ने सम्भावना छैन ।’
उपभोक्ता बर्माले खुद्रा ग्यास बिक्री गर्ने टम्पो चालक राजकपुर मण्डलसँग ग्यास खरिद गरेका थिए । उनी कोशी ग्यासको आधिकारिक बिक्रेता समेत नभएको र आधिकारिक बिक्रेता को स्टफ पनि न भएको कम्पनीले जनाएको छ । ‘टेम्पो चालक मण्डलले पहिला पनि बदमासी गरेको भन्ने बुझेका छौ । हामी आज मात्र उनी लगायत अन्य खुद्रा बिक्रेतालाई ग्यास बिक्री नगर्न डिलरलाई सूचना पनि जारी गरेका छौ, गरे डिलरलाई नै कारबाही गछौ ।’ प्रबन्धक उपाध्यायले विराटपथसँग भने,‘यो बिषयमा नैतिक रुपमा हामी जिम्मेवार भएता पनि हामी बाट यस प्रकारको कुनै काम गर्ने नियत राखेका छैनौ ।’