विराटनगर । कोरोना भाइरस संक्रमणको पुष्टि भएका चर्चित हास्यव्यंग तथा स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अबस्थामा सुधार आएको छ । गजुरेललाई कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनिया भएका कारण केही समस्या देखिएको थियो । गजुरेलको पारिवारिक श्रोतका अनुसार उनलाई ‘आइसियु ब्याकप’मा राखिएको छ ।
कोरोना संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेको थियो । गजुरेलले सामाजिक सञ्जाल फेसबुकबाट आफुलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका थिए ।
गजुरेलले सामान्य टाउको दुख्ने, ज्वरो आउने, ढाडको दुखाई हुने महसुस गरेपछि पिसिआर टेस्ट गरेको जनाउँदै संक्रमणबाट बाँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने जनाएका थिए ।