विराटनगर । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) खेलमा अनलाइन मार्फट सट्टेबाजी खेल खेलाउने तीन जना समातिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले आईपिएलमा सट्टेबाजी गरेको आरोपमा विराटनगर १६ भट्टीमोडबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भट्टीमोड बस्ने ३७ वर्षका पुरूषोत्तम साह, सोही स्थान बस्ने ३५ बर्षका मन्जित साह र विराटनगर १५ जानकी मन्दिर छेउ बस्ने २८ बर्षका अपजर अली रहेका छन् ।
प्रहरीले आईपिएल क्रिकेट खेलमा अनलाइन मार्फत सट्टेबाजी खेल भइरहेको सूचनाको आधारमा आइतबार राति भट्टीमोडमा पुरूषोत्तम साहको घरमा छापा मारेको थियो । छापा मार्ने क्रममा प्रहरीले अठाईस हजार पाँच सय नगद, ३ थान मोवायल, ३ वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरेको थियो । पक्राउ परेकालाई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
यस अघिपनि प्रहरीले सट्टेबाजी गरेको आरोपमा केही ब्याक्तिलाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाएको थियो ।