

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका मुख्यमन्त्री शेरधन राईले झुठो भाषण दिदै हिडेको आरोप लगाएका छन् ।
शनिबार भिडियो कन्फ्रेन्समार्फत पत्रकार सम्मेलन गर्दै प्रमुख सचेतक कार्कीले कोरोना भाइरसको संक्रमणको जटिल अबस्थामा मुख्यमन्त्री राई काठमाण्डौंमा सयर गर्दै हिडेको समेत बताए ।
पछिल्लो समम प्रदेशसभा सञ्चालन नभएको अबस्थामा काँग्रेस धारणा सार्वजनिक गर्दै कार्कीले भने, ‘धेरै बिरामीहरु घर मै बसेर छट्पटिनु भइरहेको छ । संक्रमित दिनदिनै बढेका छन् । उनीहरु सरकारी आइसुलेसनमा बस्न चाहन्छन् तर पाइरहनु भएको छैन । अर्को तर्फ प्रदेशका मुख्यमन्त्री शेरधन राई घर घरमा पुगेर सरकारले सेवा दिइरहेको छ भनेर झुठो भाषण गर्दै हिडिरहनु भएको छ । प्रदेश सरकार कति अनैतिक धरातलमा उभिएको छ भनेर यहि कुराबाट प्रष्ट हुन्छ ।’
उनले भएका अस्पतालमा समेत बिरामी अक्सिजन नपाएर दुखद रुपले मृत्युवरण गर्न बाध्य रहेको चर्चा गर्दै अस्पतालमा रहेका बिरामी समेत भेडा बाख्रा जस्तै राखिएको बताए । कार्कीले अस्पतालमा शौच गर्ने सम्म ठाँउ नभएको उल्लेख गर्दै प्रदेश १ मा कोराना संक्रमित मात्र होइन अन्य बिरामीले समेत उपचार पाउन नसकेको प्रष्ट पारे ।
‘अहिलेपनि आकस्मिक सेवा पनि पाउने अबस्था छैन । प्रदेशमा यस्तो भयावह स्थित हुँदा मुख्यमन्त्री काठमाण्डौमा सयर गर्दै हुनुहुन्थ्यो ।’ उनको आरोप थियो, ‘वहाँ काठमाण्डौबाट विराटनगर आएपछि केही ठोस कार्य होला भन्ने ठानेका थियौ तर सबै आशा ब्यर्थ भएको छ ।’
कार्कीले प्रदेश सरकार विफल भएको दावी गर्दै प्रदेश सरकार सत्तालाई आड बनाएर राज्यकोषलाई ब्रम्हलुट गर्न पल्किएको आरोप लगाए । उनले भने, ‘यो सरकारबाट जनताको पीर मर्का बुझ्ने काम समेत भएको छैन । मानवता नभएको सरकार रहेछ,यो ।’
उनले वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति समेत कोरोना संक्रमणको घातक बृद्धि हुँदा काठमाण्डौमा रमाइरहेको आरोप लगाए । प्रतिष्ठानमा सरकारले ३०० शैय्याको अस्पताल निर्माणका लागि दिएको १२ करोडको खर्च पारदर्शी नभएको बताउँदै अस्पताल सञ्चालनका लागि बिभिन्न दलले ज्ञापन पत्र बुझाएपनि अस्पताल सञ्चालनमा नआएको आरोप लगाए ।
प्रतिष्ठानको जमीन ब्यापारीलाई सुम्पने चलखेल
प्रमुख सचेतक कार्कीले वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको जग्गा सेटिङको आधारमा ब्यापारीलाई सुम्पने चलखेल भएको बताएका छन् ।
उनले उपत्यकाको तीनै जिल्लाको प्रशासनले कुनै भेला, गोष्ठि नगर्न निर्देशन जारी गरेको बेला पार्क भिलेजमा सिनेट बैठक गरेर जमीन बाँड्ने चलखेल भएको बताए । सो चलखेलमा प्रतिष्ठानको सहकुलपति तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उपकुलपति डा. ज्ञानेन्द्र गिरीले संलग्नता रहेको दावी छ । दुवैको सहमतिमा सो प्रस्ताव सिनेटमा लगिएको उनको भनाई छ ।
पत्रकारसँग कार्कीले भने, ‘सह कुलपति स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उपकुलपति डा. ज्ञानेन्द्र गिरीले संलग्नतामा वीपीमा प्रतिष्ठानको जमीन ब्यापारीलाई सुम्पने सेटिङका आधारमा सिनेटमा प्रस्ताव लगिएको छ । प्रतिष्ठानको चल अचल सम्पत्ति उपर मनोमानी पूर्वक खेलवाड गरिएको छ ।’
सो कार्य प्रतिष्ठान ऐन २०४९ को दफा ४ को उपदफा ३ को दुरुपयोग गदै भएको कार्कीको दावी छ । उनले प्रतिष्ठानको अस्तित्व समाप्त पार्न ल्याइएको प्रस्तावलाई तत्काल फिर्ता लिन माग समेत गरे ।