विराटनगर । म घर मै थिए । कोरोना संक्रमणको भयावह अबस्था र त्रासिदको कारण मनमा केही डर थियो । तरपनि साथीभाईसँगको भेटघाटका केही क्रम चलिरहेका थिए । विराट मेडिकल कलेज, टंकिसिनवारीमा कार्यरत एक मित्रसँग मेरो भेटघाट भएको थियो । म वहाँ कै मोटर चढेर मेडिकल कलेज पुगेको थिए । यो साउन २ गतेको कुरा थियो ।
म पूर्वाञ्चल बिश्वबिद्यालयमा कार्यरत एक कर्मचारी पनि हुँ । सँगसँगै लेखन र अभिनय क्षेत्रमा समेत मेरो रुचि हो । साउन २ गते भन्दा केही दिन पहिले एउटा बिज्ञापनको सुटिङमा म ब्यस्त थिए । यी र यस्तै काममा पनि मेरो दिनचर्या बितिरहेको थियो । कहिले कहाँ र अनि कहिले कुन भेटघाट, तर मैले आफुलाई सुरक्षित नै रहेको महसुस गर्थे । माक्सको प्रयोग पनि गरेकै थिए । तर मलाई बिश्वास थियो, मलाई कोरोनाको संक्रमण छैन । किनकी मेरो शरीरमा त्यस्तो केही लक्षण देखिएको थिए ।
म फेरि साउन २ गते कै प्रसङ्गमा आए । २ गते विराट मेडिकल कलेज पुगेपछि त्यहाँ साथी र मैले खाजा खायौ । त्यसपछि भने हामी दुबैले कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीसँग भेट गर्यौ । चिकित्सक भएका कारण पनि वहाँसँग भेट गर्न र संवाद गर्न मलाई कुनै डर लागेन । निसंकोच वहाँसँग धेरै नै नजिक भएर भलाकुसारी गरेर केही समय बित्यो त्यो दिन । त्यो बेलासम्म पनि मैले आफुलाई सुरक्षित महसुस गरेको थियो । केही दिनहरु यसरी नै बिते ।
तर साउन ८ वा ९ गते हुनुपर्छ । डा. कार्कीलाई कारोना संक्रमणको खबरले विराटनगरको बजार तात्यो । वहाँलाई कोरोनाको संक्रमणको खबरले मेरो मनमा पनि चिसो पस्यो । कता कता आफुलाई पनि संक्रमण छ, कि भन्ने डर लाग्यो । एक त दैनिकी नै यताउताको अनि आफुले भेटेका ब्याक्तिलाई कोरोनको संक्रमण ।
मनमा अनेकन कुरा खेल्न थाल्यो । तैपनि जे हुन्छ होस्, अब पिसीआर परिक्षण नै मेरो बिकल्प हो भन्ने लाग्यो । केही दिन त घर मै मनमा अनेक कुरा खेलाएर बसे । अनि साउन १२ गते मैले पिसीआर परिक्षणका लागि स्वाब दिए । साउन १४ गते साँझ ८ बजे मैले कल्पना गरे विपरितको परिणाम आयो । जे नहोस् भनेर भगवान पुकारेको थिए, त्यहि भयो । साँझ ८ बजे मलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
निक्कै डर थियो मनमा । घरमा श्रीमति अनि परिवार । मसँगै उनीहरु कोरोना संक्रमण जोखिम उच्च थियो । आधा घण्टा बित्न लागेको थिएन् । मेरो घर अगाडी एम्बुलेन्स आइपुग्यो । श्रीमतिले बन्दोबस्त गरिदिएको कपडा बोकेर,एम्बुलेन्स हुँदै मेरो गन्तब्य बन्यो गोठगाँउ, जहाँ म आइसोलेशनमा भर्ना हुनुपर्ने थियो । पूर्वाञ्चल विश्वबिद्यालयको अस्पताल भएका कारण पनि केही भएमा सहज हुने मेरो अनुमान थियो ।
त्यो साँझको खाना खाए । मनमा अनेकन कुराहरु खेल्न थाल्यो । इन्टरनेटको पहुँच भएका कारण मोवाइलमा आफुलाई ब्यस्त राखेर आफुलाई एक्लो महसुस हुन दिइन् । एक्लो कोठा, वरिपरि नेपाली सेनाको पहरा, म जस्तै अन्य संक्रमित पनि, अर्को दुनियामा भएको भान हुन्थ्यो मलाई । तैपनि हिम्मतमा केही कमि थिएन । रातभर घरपरिवारको चिन्ताले मन नपिरोलेको होइन् । तर रोगसँग लड्न आत्मबल पनि चाहिन्छ भन्ने मेरो मान्यता थियो । मेरो चिन्ता परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भए के होला भन्ने थियो । यस्तै मनमा उठेका हरेका जिज्ञासाको उत्तर आफैमा खोज्दै १४ गतेको रात बित्यो ।
मेरा दिनचर्याहरु विहान खाजा, दिउँसो खाना, साँझ खाजा र अनि फेरि खाना खाँदै त्यहि कोठामा बित्दै गए । मेरो जीवन सामान्य रुपमा नै बित्यो । कोरोना संक्रमण भएपनि केही असहज र अफ्ठयारो महसुस भएन । २ दिन पछि घरका अन्य सदस्यहरुमा कोरोना संक्रमण नभएको खबरले मन नै हलुको भएर आयो । मनका तनाव त यत्तिकै हराए । न घाँटी दुख्यो, न ज्वरो आयो । न तातोपानी खानुपर्यो नत सिटामोल नै । आइसोलेशनका हरेक दिन मेरो यसरी बिते । म चाँडै कोरोनालाई जित्न चाहान्थे । कता कता त्यहाँको जिन्दगी आफैलाई असहज हुन थालेको थियो ।
मेरो बुझाई कोरोना भनेको ध्यू हो । बलेको आगोमा ध्यू हाल्दा जसरी आगो झन दन्किन्छ, कोरोना पनि त्यहि हो । म शारिरिक रुपमा तन्दरुस्त थिए । मेरो शरिरमा अन्य रोगको आगो बलेको थिएन । यसका कारण त्यो आगोमा कोरोना जस्तो ध्यूले केही प्रभाव पारेन । शायद मैले कोरोनालाई जित्नु पनि यहि कारण हुन्छ ।
साउन २२ गते बिहिबार मेरो रिर्पोट आयो । २२ गते म कोरोना मुक्त भएको थिए । यो झण मेरो मनमा बेग्लै हर्ष थियो । छोटो समय भएपनि परिवारसँगको मिलनका लागि म आतुर थिए । मैले कोरोना संक्रमण पश्चात जुन आत्मबल लिए । त्यहि आत्मबलले मेरो सबै पीर र पीडा खुशीमा बद्लिएको थियो ।
(कोरोना भाइरस संक्रमित विराटनगर ३ निवासी सुजन दाहाल संक्रमण मुक्त भएपछि)