विराटनगर । नेपाली काँग्रेस सुनसरीका जिल्ला सदस्य योगेन्द्र मेहतालाई कोरोना संक्रमण पुष्टि भएको छ । औषधी ब्यवसायी पनि रहेका मेहतालाई मंगलबार कोरोना संक्रमणको पुष्टि भएको हो । सोमबार मात्र उनी इनरुवा बजारमा सर्वसाधारणलाई माक्स वितरण गर्दै हिडेका थिए ।
उद्योग बाणिज्य संघ इनरुवाले सर्वसाधारणलाई लक्षित गरि इनरुवाको गोलचोकमा सोमबार माक्स वितरणको कार्यक्रमको आयोजना गरेको थियो । संक्रमित मेहता सो कार्यक्रममा सरिक भएर माक्स वितरण गरेका थिए । ‘हो वहाँ सो कार्यक्रममा सहभागी भएर केहीलाई माक्स वितरण गर्नुभयो ।’ संघका अध्यक्ष बीरेन्द्र साहले विराटपथलाई भने, ‘तर वहाँ धेरै वेर बस्नु भएन । केहीबेर बसेर जानुभयो ।’ संघले सोमबार मात्र करिब पाँच सयलाई माक्स वितरण गरेको थियो ।
नेपाली काँग्रेस सुनसरीका केही पदाधिकारीसहित मेहताले आइतबार कोरोना परिक्षणका लागि स्वाब दिएका थिए । नगरपालिकाले सो दिन ७१ जनाको स्वाब लिएको थियो । उनीसँगैका अरुमा कोरोना संक्रमण नभएपनि उनीलाई भने मंगलबार संक्रमण भएको पुष्टि भयो । राजनीतिसँगै ब्यापारमा समेत सक्रिय रहेका कोरोना संक्रमण भएपछि दिउँसो इनरुवा नगरपालिकामा आकस्मिक बैठक बसेको थियो । बैठकले साउन २६ गतेसम्म इनरुवामा लकडाउन गर्ने निर्णय गरेको थियो ।
मेहताले आफुलाई कोरोना संक्रमणको पुष्टि भएपछि पार्टीको आसन्न महाधिवेशनका लागि दौडधुप हुँदा कहाँबाट संक्रमण भएको पत्तो नपाएको बताएका छन् । उनले आफुले माक्स वितरण गरेको बताउँदै नआत्तिन आग्रह गर्दै सचेत हुन सबैमा अनुरोध गरेका छन् । मेहताले आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत हुन समेत जनाएका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले मेहताको अहिलेसम्म ‘ट्राभल हिस्ट्री’ नखुलेका जनाएका छन् । प्रमुख प्रसाईले समूदायस्तरमा कोरोना संक्रमण फैलन सक्ने सम्भावना रहेको बताउँदै तत्कालै गरिएको लकडाउनले केही सहज पुग्ने विराटपथलाई बताए । उनले भने,‘वहाँसँग सम्पर्कमा आएकाहरुको बुधबार नै स्वाब संकलन गर्नेछौ । त्यसवाहेक अन्यको समेत टे«सिङको काम जारी राख्नेछौ ।’ प्रसाईले कोरोना संक्रमित मेहताको धेरै मानिस रहेका जनाउँदै चरणबद्ध रुपमा सबैको स्वाब लिने समेत बताए ।
तस्वीर : माक्स बाँड्दै मेहता (बीरेन्द्र साहको फेसबुकबाट)