विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका मोरङको सुनबर्षी नगरपालिका – ८ सिक्टीका ४५ बर्षिय पुरुषको परिवारका १४ जनालाई कोरोना संक्रमण देखिएको छ । उनको मृत्यु पश्चात गरिएको कन्ट्याक ट्रेसिङका क्रममा एउटै घरबाट १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
रंगेली नगरपालिकाले सोमबार साँझ दिएको जानकारी अनुसार १५६ जनाको स्वाब संकलनको क्रममा सो परिवारको १४ जनासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ती ब्याक्ति सुनबर्षीको सिक्टी हुँदै रंगेली बजार, क्लिनिक, रंगेली अस्पताल हुँदै कोशी अस्पताल विराटनगर आएका थिए । विराटनगरमा समेत उनको उपचार सम्भंव नभएपछि थप उपचारका लागि धरान पठाइएको थियो ।
उनको कोरोना संक्रमणको क्रममा मृत्यु भएपछि कन्ट्याक ट्रेसिङ गरिएको थियो । सो क्रममा रंगेली अस्पतालका स्वास्थ्यकर्मी, बिद्युत प्राधिकरण रंगेलीका कर्मचारीमा कोरोना संक्रमण भेटिएको थियो । रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले कोरोना संक्रमण समूदायस्तरमा गएको बताउँदै ३ दिनका लागि रंगेली बजार सिल गर्ने निर्णय गरिएको बताए । उनले सबैलाई यो अबस्थामा सजग र सचेत हुन समेत आग्रह गरे ।
रंगेली नगरपालिकाले सोमबार राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म रंगेली बजार सिल गर्ने, स्वास्थ्य सेवा वाहेकका नगरपालिका र वडाबाट दिइने सेवा बन्द गर्ने र रंगेली अस्पतालको इमरजेन्सी सेवा समेत अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको छ ।