विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक ब्याक्तिको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा ७७ बर्षिय पुरुषको मृत्यु भएको हो । उनी विराटनगर महानगरपालिका वडा नम्बर ५ आर्दशनगरका बासिन्दा हुन ।
लगातार ज्वरो आउने, सास बढ्ने र छाती दुख्ने समस्या भएपछि उनलाई आज विहान ९ बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोशी अस्पतालका मे.सु. डा.चुमनलाल दासले उनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरे । मे.सु.दासले ती पुरुषको दिउँसो ३ बजेर १५ मिनेटमा निधन भएको जानकारी दिए । उनले उपचारको क्रममा उनको मृत्यु भएको जनाए ।
‘गम्भीर अबस्थामा रहेका संक्रमितलाई हामीले तत्कालै आइसुलेसनमा राखेर उपचार शुरु गर्यौ र तत्कालै स्वाबपनि लियौ ।’ मे.सु.दासले विराटपथसँग भने,‘स्वाब परिक्षणको रिर्पोट आउँदा कोरोना संक्रमण देखियो ।’ डा.दासले उनको कुनै ट्राभल हिस्ट्री नभएको समेत बताए ।
अस्पतालले शव ब्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको जनाएको छ । मे.सु. दासका अनुसार शवलाई कहाँ सद्गद् गर्ने भन्ने बिषयमा मृतकका आफन्तसँग टुंगो लागेपछि शवको ब्यवस्थापन हुने जनाए । उनले भने, ‘एम्बुलेन्सदेखि लिएर शवको ब्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेनासँग कुरा भएको छ । सबै कुरा मिल्यो भने आजै शवको ब्यवस्थापन हुन्छ ।’