विराटनगर । ‘शनिबारदेखि हनहनी ज्वरो थियो । मनमा धेरै आशंका थिए । के गरौ, कसो गरौ भन्ने मनमा थियो । म आफै डाक्टर, एउटा निर्णयमा पुग्नु थियो ।’ कोरोना भाइरसको संक्रमणबाट थलिएर केही तङ्रिएका डा.ज्ञानेन्द्रमान सिंह कार्कीले विराटपथसँग भने, ‘सोमबार जब कोरोना संक्रमणको पुष्टि भयो । अनि मनमा धेरै कुराहरु खेल्यो । तुरुन्त उपचारको बिकल्प थिएन, तत्कालै उपचारका हरेक प्रक्रिया शुरु गरियो ।’
विराट मेडिकल कलेज र विराटनगर अस्पतालका सञ्चालक डा. कार्कीलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनीप्रति सद्भाव राख्ने भन्दापनि बिरोधका आबाज उठाउने धेरै थिए, किनकी उनीमाथि ठूलो आरोप थियो । त्यो आरोप थियो डा.कार्कीले आफैमा भएको कोरोना संक्रमणको बिषयलाई लुकाए । त्यहि कारणले समाजमा कोरोना संक्रमण फैलिने संम्भावना धेरै रह्यो ।
आइतबार राती विराटपथसँगको कुराकानीमा डा.कार्की मलिन स्वरमा बोल्दै थिए । उनको भनाई थियो, ‘म आफैमा डाक्टर । रोग लुकाउन हुन्न भन्ने मान्यता हाम्रो हो । तर हरेक दिन बिरामीसँगको अहोरात्र खटाईले म माथि संक्रमण भयो, मलाई नै थाहा भएन । जब विस्तारै रोगले च्यापेर अहसज भयो । रोग र त्यसका बिरुद्ध लड्ने बाहेक मेरो दिमाग केही आएन । यति बिरामीको उपचार गरियो तर आज आफै गम्भीर रोगको शिकार हुँदा ठूलो पीडालाई सामना गरे । भगवानको आर्शिवाद र चिकित्सकको अथक मेहनतले म यसरी आज यो अबस्थामा फर्किएको छु ।’
लगातार ज्वरो आएपछि होम आइसुलेसनमा बसेका डा.कार्कीलाई कोरोना संक्रमण भएपछि तत्कालै अस्पताल लैजानुपर्ने दवाव बढेको थियो । उनी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भंव नभएपछि उनलाई हेलिकप्टरबाट काठमाण्डौको शिक्षण अस्पताल लगिएको थियो । उनलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।
शिक्षण अस्पतालको आइसियुमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो । स्वास्थ्य अबस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर ९० प्रतिशत अक्सिजन दिएर उपचार गरिएको थियो । ‘हो, म कठिन अबस्थाबाट गुज्रनु पर्यो । ६० बर्षको उमेर, हरेक दिनको दौडधुप । एकातिर अस्पताल, अर्कोतिर मेडिकल कलेज । मेरो जस्तो ज्यान त सबैको हो नि, म अरुको ज्यान जोगाउन नै लागे ।’ कार्कीले भने, ‘तर यो कठिन अबस्था मलाई मात्र होइन सबैलाई हुनसक्छ । सचेत र सजग हुन म सबैलाई आग्रह गर्छु । कसैलाई गाली वा आलोचना होइन, पहिला आफु र परिवारको बिषयमा सोच्नुस् । सरकार, डाक्टर वा कुनै निकाय होइन । पहिला आफुलाई सोच्नुस् ।’
प्लाज्मा थेरापी गरिएपछि उनलाई अहिले सामान्य बेडमा सारिएको छ । खतरामुक्त अबस्थामा रहेका डा.कार्कीले आफु स्वस्थ्य हुँदा खुशी भएको र यो खुशी आम नेपालीमा आउनुपर्ने बताए । ‘खुशी छु । यस्तो खुशी हरेक नेपालीमा आओस् । हरेक नेपाली म जस्तै खुशी हुन सकुन । कोरोना संक्रमणले मृत्यु होइन । सबै स्वस्थ्य भएर खुशी मिलोस् ।’ डा.कार्कीको भनाई थियो ।
साउन ८ गते कोरोना पुष्टि भएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका कार्कीलाई निमोनिया देखिएपछि थप ‘अब्जरभेसन’का लागि साउन १० गते काठमाडौँ लगिएको थियो । ‘नेपालमा दक्ष जनशक्ति र योग्य चिकित्सक छन् भन्ने कुराको पुष्टि भएको छ । म नेपालमा कोरोना भाइरसबिरुद्ध जुट्नु भएको सबै चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार ब्यक्त गर्छु ।’ उनले भने, ‘यो बेला सजक हौ । सर्तक बनौ ।’