विराटनगर । नेपालका पाँच जिल्ला कोरोना संक्रमणबाट मुक्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला कोरोना संक्रमणबाट मुक्त रहेको जानकारी दिइएको हो ।
२७४ संक्रमित थपिए
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा देशभर दुईसय ७४ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । यो संख्यासँगै नेपालमा कूल संक्रमितको संख्या १९ हजार पाँच सय ४७ जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमले अहिले देशका विभिन्न आइसोलेसनमा पाँच हजार दुई सय २७ जना संक्रमित उपचाररत रहेको बताए । उनले २४ घण्टामा दुई सय २७ जना डिस्चार्ज भएको र हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार दुई सय ४८ पुगेको उल्लेख गरे । अहिलेसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको समेत जानकारी दिईयो ।
अहिले देशभरिका विभिन्न क्वारेन्टिनहरुमा १३ हजार २ सय १ जना रहेका छन् ।