विराटनगर । पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि मोरङको विराटनगर र गोठगाँउका आइसोलेसनका बेड भरिएका छन् ।
कोरोना संक्रमणको जोखिम विराटनगर महानगरपालिका क्षेत्रमा उच्च रहेको छ । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । बिहीबार मात्र विराटनगरमा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । विराटनगरसँगै इटहरी उपमहानगरपालिकामा समेत समूदायस्तरमा कोरोना संक्रमण देखिएको छ । बिहीबार इटहरी उपमहानगरपालिकाका ईन्जिनियरमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमितका लागि प्रदेश सरकारले विराटनगरमा ५० र गोठगाउँमा १२५ बेडको आइसोलेसन बनाएको थियो । दुईवटै आइसोलेसन केन्द्रको बेड भरिएपछि नयाँ संक्रमितलाई व्यवस्थापन गर्न समस्या भएको सम्बन्धित अधिकारीले जनाएका छन् । आइसोलेसन कक्ष भरिएका कारण बुधबारसम्म विराटनगरका संक्रमित १५ जना घरमै बस्न बाध्य छन् ।
विराटनगर महानगरपालिकाका कोभिड १९ टिमका सुपरभाइजर हैदर अलीले थप संक्रमितलाई ब्यवस्थापन गर्न असहज भएको बताए । उनले संक्रमितलाई घरमै छाड्दा जोखिम झन बढ्न सक्ने बताउँदै आइसोलेसनका बेडहरु भरिएको समेत जानकारी दिए । को बताए । विराटनगर नगर क्षेत्रमा मात्र हालसम्म ९५ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । अझै कोरोनाको संक्रमण बढ्दै गए उनीहरुलाई कहाँ र कसरी ब्यवस्थापन गर्ने बिषयमा अझै अन्यौलता रहेको छ ।
यता कोसी अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको छ । कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले ओपीडी सेवा बन्द गरेको हो ।