विराटनगर । चर्चित गायक पोखरेलका पिता एकनाथ पोखरेलको शनिबार राति ८० बर्षका उमेरमा निधन भएको छ । पोखरेलको आइतबार हिन्दु परम्परामा मोरङको रंगेलीमा अन्तेष्टि गरिएको छ ।
पोखरेलका कान्छा छोरा गायक सुगमले भने यो बर्ष आफ्ना पितालाई केही ‘सप्राइज’ दिने योजना बनाएका थिए । उनले यो वर्षको बुवाको मुख हेर्ने दिनमा लागि आफ्नै बुवाका लागि एउटा गीत बनाइरहेका थिए । सो गीतको एरेन्जको कार्य समेत भइरहेको थियो ।
नेपाली गीत संगीतको क्षेत्रमा मायाप्रीतिको गीत मात्र होइन राष्ट्रिय भावना र चेतनामूलक गीत गाएका सुगमले पिताका लागि सर्मपण गर्ने उद्धेश्यले गीत तयार गरेका थिए । तर उनको सो इच्छा भने अपुरो हुने भएको छ । भदौ ३ गते कुशे औशीका दिन बुवाको मुख हेर्ने चलन रहेको छ । उनले सोही दिन पिताप्रति सर्मपित सो गीत सार्वजनिक गर्ने योजना बनाएका थिए ।
सो गीतको एरेन्ज गरिरहेका एरेन्जर सुजिल कर्माचार्यले सो गीतको काम भइरहेका जनाउँदै एक्कासी गायक पोखरेलका पिताको निधनको खबर सुन्दा दुख लागेको बताए । हालैको एउटा अन्तरवार्ताको क्रममा गायक पोखरेलले पनि पिताको लागि गीतको तयारी गरेको जनाएका थिए ।