विराटनगर । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाँउपालिका ७ को जटबरामा शुक्रबार शसस्त्र प्रहरीको गोली लागेर एक तस्कर गम्भीर घाइते भएका छन् । भारतबाट अबैध रुपमा नेपालतर्फ मालसामान ल्याउँदै गरेका तस्करलाई रोक्न खोज्दा शसस्त्र प्रहरी माथि नै कुटपिट भएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर २० बर्षिय साहजब जट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
शसस्त्र प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार राती करिब १० बजेतिर दशगजामा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सामान शसस्त्र प्रहरी बिओपी पोष्ट घुस्कीमा रोक्न खोज्दा प्रहरी जवान जीवराज बिशंखेमाथि आक्रमण भएको थियो । तस्करलाई नियन्त्रणमा लिने क्रममा बिशंखेमाथि बाँस र ढुङ्गाले प्रहार गरी घाईते बनाई हतियार समेत खोस्न खोज्दा उक्त तस्करको समुहलाई प्रहरीले गोली चलाएको थियो । शसस्त्र प्रहरी चलाएको गोली लागेर सोही स्थानको ७ सुकुम्बासी टोल बस्ने जटको पेटमा गोली लागेको थियो ।
घाईते जटको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते शसस्त्रका प्रहरी जवानको जिल्ला अस्पताल ईनरुवामा उपचार भएको छ । शसस्त्र प्रहरी नम्बर ४ गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले घटनाको पुष्टि गरे । उनले तस्कर समूहलाई रोक्न खोज्दा आक्रमण भएको र एक राउण्ड गोली चलाएको बताए ।
सांकेतिक तस्वीर