विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा कोरोना भाइरसको संक्रमण हुन भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ । सामाजिक विकास मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा शुक्रबार प्रदेश १ मा एकजना मात्र संक्रमित फेला परेका छन् । झापा शान्तिनगरका एक पुरुषमा संक्रमण देखिएको हो ।
शुक्रबार प्रदेश १ मा २४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । प्रदेश १ मा अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या ७ सय ७५ रहेको छ । यो तथ्याङकलाई हेर्दा प्रदेश १ मा अहिले संक्रमित मात्र ९५ जना रहेका छन् । उनीहरु प्रदेश १ को बिभिन्न अस्पतालमा उपचारका क्रममा रहेका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत दुईजना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत एकजना डिस्चार्ज भएको हुन । डिस्चार्ज हुनेहरुमा झापाका १३, सुनसरीका तीनजना, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको छन् ।
फाइल तस्वीर