विराटनगर । मोरङको केराबारी गाँउपालिकाका अध्यक्ष राहित कार्कीमाथि कार्यालय भवनमा नै छुरा प्रहार भएको छ । शुक्रबार दिउँसो करिब ११ बजे ४१ बर्षिय गाँउपालिका अध्यक्ष कार्कीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
केराबारी गाँउपालिकाको वडा नम्बर १० मा रहेको कार्यालय भवनमा सोही स्थान बस्ने अन्दाजी ३२ बर्षिय भवन ठकुरीले ठेक्कापट्टाको बिषयलाई लिएर कार्कीमाथि छुरा प्रहार गरेको बताईएको छ । ठकुरीले पटके करको ठेक्काको बिषयलाई लिएर अध्यक्ष कार्कीमाथि शुरुमा हातपात गरेका थिए । त्यसपछि उनले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते भएका कार्कीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले अहिले त्यहाँको अवस्था सामान्य भएको जनाउँदै आक्रमण गर्ने ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनको साथबाट प्रहरीले छुरासमेत बरामद गरेको छ । ठकुरीले गाँउपालिकाका सुरक्षागार्डसँग रहेको खुकुरी खोसेर आक्रमण गरेका थिए । इलाका प्रहरी कार्यालय केराबारी र शसस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प लक्ष्मीमार्गबाट गएको प्रहरीले टोलीले ठकुरीलाई नियन्त्रणमा लिएको छ ।
ठकुरीले आर्थिक वर्ष २०७६/ ७७असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का पाएका थिए । तर साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा उनले अध्यक्षमाथि आक्रमण गरेको बताइएको छ ।