विराटनगर । लागूऔषध र अबैध हतियारको ओसारपसारबिरुद्धमा आक्रमक देखिएको सुनसरी प्रहरीले पछिल्लो केही समयेदखि नियमित रुपमा सर्च अप्रेसन चलाउँदै आएको छ । लागूऔषधबिरुद्ध ‘स्वीप अप्रेसन’ सञ्चालन गर्दै आएको प्रहरीले भारतसँग सीमा जोडिएको क्षेत्रमा नियमित गस्ती समेत गर्दै आएको छ ।
सोही सिलसिलामा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली बिहीबार साँझ पनि सीमावर्ती क्षेत्रतर्फ लाग्यो । प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वको प्रहरी टोली भारतसँग सीमा जोडिएको देवानगञ्ज गाँउपालिका ३ स्थित पानीट्याङकी पुग्यो । रातको करिब ९ बजेको थियो । रातको समय भएकाले निक्कै सुनसान थियो । ‘हामी सर्च अभियानमा नै थियो । भारतीय क्षेत्रबाट केही मानिस नेपालतर्फ लागे ।’ घटनास्थलको बिषयमा जानकारी दिदै प्रहरी निरीक्षक खनालले विराटपथलाई भने, ‘उनीहरुले हामीलाई देख्ने बित्तिकै भाग्ने कोसिस गरे । हामीले उनीहरुलाई पिछा गर्दै गयौ । त्यसपछि उनीहरुले हामीमाथि फायर खोले ।’
प्रहरीले उनीहरु ४ – ५ जनाको संख्यामा रहेको जनाएको छ । उनीहरुसँग हतियार रहेको र सो हतियार खोसाखोस हुँदाको अबस्थामा दुबैतर्फबाट फाइरिङ भएको प्रहरीको दावी छ । प्रहरीको गोली लागेर दुई जना घाइते समेत भएका छन् । घाइते हुनेमा देवानगञ्जका २३ बर्षिय पिन्टु यादव र सोही ठाँउ बस्ने ३२ बर्षिय राकेश यादव रहेका छन् । उनीहरुको दुबैको खुट्टामा गोली लागेको छ । घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले घटनामा दुबै तर्फबाट १२ राउण्ड फायर भएको बताए । उनले पक्राउ परेकाहरु सीमा क्षेत्रमा अबैध हतियार र लागूऔषधको कारोबारमा संलग्न हुन सक्ने जानकारी दिए । प्रहरीले घटनास्थलबाट अटोमेटिक युएसए लेखिएको पेस्तोल एकथान, सोमा लाग्ने गोली ६ थान र म्यागेजिन २ थान बरामद गरेको छ । त्यस्तै अनटेस्ट लेखिएको मोटरसाइकल एकथान र बिआर ३८ भी ३५२८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
प्रहरीले घटनामा अन्य तीनजना पनि भएको तर उनीहरु भने दशगजा क्षेत्र हुँदै फरार भएको जनाएको छ । ‘उनीहरु भारतीय मूलका जस्ता ब्याक्तिहरु थिए । फरारको पनि खोजी कार्य भैरहेको छ ।’ एसपी थापाले भने, ‘उनीहरुलाई पनि गोली लागेको हुन सक्छ । स्थानीय अस्पतालहरुमा हामीले निगरानी बढाएका छौ ।’