विराटनगर । सुनसरीको देवानगञ्जमा बिहीबार राती १० बजे प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । सुनसरी प्रहरीले नियमित रुपमा सञ्चालन गर्दै आएको सर्च अप्रेसन अन्तरगत गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १० बजे देवानगञ्ज – ३ मा रहेका ४ – ५ जनाको संख्यामा रहेका युवालाई सर्च गर्दा दुबै पक्षबीच गोली हानाहान भएको थियो । सो क्रममा हतियार खोसाखोस गर्ने क्रममा एक थान पेस्तोल, केही राउण्ड गोली र २ थान म्यागेजिन समेत बरामद भएको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको पुष्टि गर्दै दुई जना पक्राउ परेको समेत जानकारी दिए । दुबै तर्फको फाइरिङ हुँदा करिब १० – १२ राउण्ड गोली चलेको प्रहरीको भनाई छ ।
दोहोरो फाइरिङ हुँदा दुई जनालाई गोली लागेको छ । गोली लाग्नेमा पिन्टु र राजेश भन्ने ब्याक्ति रहेका छन् । उनीहरु दुबैलाई खुट्टामा गोली लागेको छ । उनीहरु घाइते भएका कारण प्रहरीले आफ्नो नियन्त्रणमा लिन सकेको हो । बाँकी अन्य भने दशगजा क्षेत्र हुँदै फरार भएको एसपी थापाले विराटपथलाई बताए । ‘उनीहरु भारतीय मूलका जस्ता ब्याक्तिहरु थिए । फरारको पनि खोजी कार्य भैरहेको छ ।’ एसपी थापाले भने,‘उनीहरुलाई पनि गोली लागेको हुन सक्छ । स्थानीय अस्पतालहरुमा हामीले निगरानी बढाएका छौ ।’
घटनास्थलबाट प्रहरीले दुई थान मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरी नियन्त्रणमा रहेका दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
तस्वीर : घटनास्थलबाट बरामद पेस्तोल