विराटनगर । महानगरीय प्रहरी परिसर टेकु र प्रहरी वृत्त थानकोटको संयुक्तले टोलीले बरामद गरेको सर्जिकल मास्कको बजार भाउ करिब ८५ लाख रुपैया रहेको प्रहरीले जनाएको छ । सो टोलीले सोमबार विहान ८ लाख ४९ हजार ६ सय थान मास्क तस्करीका लागि राखिएको अबस्थामा फेला पारेको थियो ।
गोप्य सूचनाका आधारमा आफै ग्राहक बनेर गएको प्रहरीले काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर १० विष्णुदेवीस्थित रोहन श्रेष्ठको घरको गोदामबाट सो मास्क बरामद गरेको थियो । श्रेष्ठको घर भाडामा लिई आरडिजि ईन्टरनेशनल कम्पनीले कालोबजारीको लागि भण्डारण गरि राखेको १७७ बोरा मास्क बरामद गरेको थियो ।
प्रहरीले सो कम्पनीका संचालक काठमाण्डौ बस्ने ३४ बर्षिय सुरज गोयल र भारत राजस्थान घर बताउने ३७ बर्षिय सुवास महेश्वरीलाई नियन्त्रणमा लिएको छ । वृतका प्रमुख डिएसपी घनश्याम श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयका काठमाण्डौका प्रतिनिधि प्रशासकीय अधिकृत खड्ग बहादुर श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम श्रेष्ठ तथा सोही वडाका वडाध्यक्ष गोपालकृष्ण महर्जन तथा स्थानीयवासीहरूको रोहवरमा सो गोदामबाट मास्कहरू बरामद गरिएको जनाए ।
मास्क तथा पक्राउ परेका व्यक्तिहरू उपर महानगरीय प्रहरी परिसर काठमाण्डौबाट कालाबजारी तथा सामाजिक हित विरूद्दको अपराध २०३२ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।