सातजना डिस्चार्ज भएर घर फर्के
विराटनगर २७ असार । पछिल्लो २४ घण्टाको अवधिमा विराटनगरमा दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले शनिबार गरेको बिज्ञप्तीमा प्रदेश १ मा १३ जनामा कोरोना संक्रमित थपिएसँगै विराटनगरमा समेत दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु विराटनगर महानगरपालिका वडा नम्बर – ३ का ६२ बर्षिय र वडा नम्बर – १५ का ४२ बर्षिय पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ को सुनसरी र उदयपुरमा चार चार जनामा, मोरङमा तीनजनामा झापामा दुईजनामा संक्रमण पुष्टि भएको हो । सुनसरीको सुनसरीको धरानका चार पुरुष, उदयपुरको बेलकाका चार पुरुष, मोरङ विराटनगरका दुई पुरुष र सुन्दरहरैचाका एक पुरुष र झापाको भद्रपुरका दुई पुरुषमा संक्रमण देखिएको हो । यो संख्यासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या सातसय २१ पुगेको छ ।
सात घर फर्के
प्रदेश १ मा शनिबार सातजना डिस्चार्ज भएर घर फर्केका छन् । कोशी अस्पताल कोभिड उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका दुई दुई जना गरि छजना र सुनसरीका एकजना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेहरु असार १२ देखि १७ गते सम्म भर्ना भएकाहरु रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिए ।