

विराटनगर । सुनसरी प्रहरीले लागूऔषधको बिरुद्धमा ‘स्वीप अपरेशन’ शुरु गरेको छ । लागूऔषधले समाज, परिवार र युवापुस्तामा असर परेको भन्दै प्रहरीले त्यसका बिरुद्धमा आक्रमक रुपमा प्रस्तुत हुने जनाएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा आयोजित पत्रकार सम्मेलनमा ‘स्वीप अपरेशन’ अन्तरगत ठूलो गिरोह पक्राउ गरेको दावी गरेको छ ।
सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले सीमावर्ती भारतीय बजारमा सजिलै पाउने लागूऔषधका कारण पूर्वी नेपालको सप्तरी, सुनसरी र उदयपुर जिल्लामा प्रभाव परेको जनाए । थापाले लकडाउनका समयमा समेत संगठित रुपमा लागूऔषधको कारोबार भएको जनाउँदै कारोबारी बिरुद्ध प्रहरीले कठोर रुपमा परिचालन भएको जनाए ।
‘लागूऔषधले समाज र परिवार तहसनहस पारेको छ । सीमित रकम कमाउने लोभमा हाम्रो समाजलाई ठूलो असर गरेको छ ।’ पत्रकार सम्मेलनमा थापाले भने,‘कारोबारी र उनीहरुको सञ्जाल भत्काउनु हाम्रो पहिलो काम हो । हामी जरैदेखि यो समस्याको हलमा जुटेका छौ ।’
थापाले पछिल्लो दुई महिनाको तथ्याङक सार्वजनिक गर्दै लागूऔषधको मुद्धामा ५० जना मानिसहरु पक्राउ परेका तथा १७ जना फरार रहेको जानकारी दिए । उनले सो अवधिमा डाईलेक्स डि.सी.आठसय ८८ बोतल, नोफिन पाँचसय ८० एम्पुल, डाईजेल्याव सातसय ८८ एम्पुल, फेनारागन सातसय १२ एम्पुल, स्पास्मोप्रोक्सि बन ७ हजार पाँचसय ५१ क्याप्सुल, गाँजा १८ केजी बरामद समेत भएको उल्लेख गरे ।
समातियो ठूलो गिरोह
सुनसरी प्रहरीले लागूऔषध बिरुद्धको ‘स्वीप अपरेशन’ अन्तरगत ठूलो संगठित गिरोह समातेको छ । प्रहरीले शुक्रबार सात जना अभियुक्त र भारी परिणाम लागूऔषध सार्वजनिक गर्दै पछिल्लो समय सो गिरोह सक्रिय रहेको जनाएको छ ।
लागूऔषध कारोबार नियन्त्रणको जिम्मेवारी पाएका प्रहरी निरीक्षक सरोज खनालको टोलीले असार – २५ गते कारोबारीको गिरोह समात्न सफल भएको हो । भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने सो गिरोहले सुनसरीको ईटहरी, धरान, चतरा, महेन्द्रनगर र लौकही लगायतका स्थानमा कारोबार गर्ने गरेको प्रहरीको भनाई छ ।
प्रहरी निरीक्षक खनालको टोलीले असार – २५ गते दिउँसो १२ बजे कोशी गाँउपालिका – ४ कोशी कटान छेउमा को १० प ९३३२ नम्बरको मोटरसाईकलमा सवार स्थानीय सुनिलकुमार मुखियालाई पक्राउ गर्छ । पक्राउ परेका मुखियाकै सूचनाका आधारमा प्रहरीले अन्यलाई समेत पक्राउ गरेको जनाएको छ ।
मुखियाको सूचनाका आधारमा प्रहरीले भारत सुपौल जिल्ला बिरपुरका राकेशकुमार मण्डल, उनका साथी कोशी गाँउपालिकाका सुनिलकुमार यादव, बीरेन्द्र मरवैता यादव, सुनसरी चतराका गोकुल भन्ने खेमप्रसाद लुईटेल, सोही स्थानका पंकज कुमार यादव र बराहक्षेत्र नगरपालिका – १ का राजु शर्मालाई पक्राउ गरेको छ ।
‘पक्राउ परेका हरेक ब्याक्तिको भूमिका फरक फरक देखिएको छ । कोही भारतमा लागूऔषधको ब्यवस्थापन गर्ने, कोही भरियाको काम गर्ने, कोहीले भने ग्राहक खोज्ने सम्मको काम गरेको देखियो ।’ प्रहरी निरीक्षक खनालले विराटपथलाई भने, ‘अझ अभियुक्तले भारी परिणामका लागूऔषध जमीन मुनि गाडेर भण्डारण गरेको समेत पाईयो ।’ पक्राउ परेकाहरुले सप्तरी र उदयपुर जिल्लामा समेत कारोबार गर्ने गरेको प्रहरीको भनाई छ ।
प्रहरी उनीहरुको साथमा रहेको तथा जमीन मुनि गाडेर लुकाएको अबस्थामा तीनसय २६ बोतल डाईलेक्स डि.सी र एकहजार ७ सय ७२ क्याप्सुल स्पास्मोपोक्सिवन बरामद गरेको छ । पक्राउ परेकाहरु लाई अदालतबाट म्याद थप भई अनुसन्धान शुरु गरिएको छ ।