सुनसरी । परिवारमा हुने सानो तिनो बेमेल र सामान्य विवादले फेरि एक जनाको हत्या भएको छ । गाँउघरमा हुने पारिवारिक किचलोका कारण हत्या सम्मको जघन्य अपराध भएको प्रहरीको निष्कर्ष रहेको छ ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार २० दिन पहिले सुनसरीको गठी गाँउपालिका – ६ सत्तरझोरामा स्थित बुढीखोलाको किनारमा फेला परेको बेवारिसे शवको अनुसन्धानको क्रममा परिवारका सदस्य हत्या भएको निक्यौल गरिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले अभियुक्त सार्वजनिक गर्दै २५ सय रुपैया दिने लोभमा हत्या गरिएको जनाएको छ ।
घटना विवरण अनुसार देवानगंज गाँउपालिका – ७ सिनवारीका २५ बर्षिय मिथुन उराँव असार ३ गते आफ्नो पत्नीसहित ससुराली गठी गाँउपालिका सत्तरेझोरा पुग्छन् । उनको पत्नी १६ बर्षिया प्रमिला उराँवसँग ६ महिना अघि मात्र प्रेमविवाह भएको थियो । प्रेमविवाह भएपनि उनीहरु विचमा भएको सामान्य खटपट र बेमेलको परिणाम पत्नी प्रमिला पतिको हत्या गर्ने योजनामा केन्द्रीत हुन्छिन् । सो योजना बुनेकी उनले आमा छाउनीदेवी उराँवलाई पतिले दिने मानसिक तनावको बिषयमा बताँउछिन् ।
छोरीको विवाहको बिषयमा उतिसारो खुशी नभएकी आमा छाउनीदेवीलाई छोरीले पाएको मानसिक तनाव ठीक लाग्दैन । सो अनुरुप ससुराली आएका ज्वाँई मिथुनको हत्या योजना बनाएका उनीहरुले छिमेकका दुईजनाको सहयोग माग्छन् ।
योजना अनुसार मृतकको पत्नी प्रमिला पति मिथुनलाई माइतीमा नै छोडेर साँझ ६ बजेतिर आफ्नो घर फर्किन्छन् । घर पुगेकी बुहारीलाई ससुरा जगदीशले छोरा खै त भनि प्रश्न गर्दा उनी गाँउ तिरै साथीहरुसँग भएको जवाफ दिएकी प्रमिलाले पतिका बारेमा अनभिज्ञता जनाउँछिन् ।
यता हत्या योजना अनुसार असार ३ गते राती ९ बजेबाट ससुरालीमा घरेलु मदिराका पार्टी शुरु हुन्छ । ज्वाँई मिथुनलाई ससुरा रामदेव लगायतकाले मदिरा खुवाएर अत्याधिक मताउँछन् । ‘त्यसपछि गाँउका ३५ बर्षका अरबिन्द उराँव र २५ बर्ष अजय उराँवलाई सासु छाउनीले घरबाट उठाएर लगेको देखिन्छ ।’ यो प्रकरणमा अनुसन्धान गरेका दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले विराटपथलाई भने, ‘मिथुनको ससुराली पक्ष र गाँउले दुईजनाले मिथुनको हत्या गरेको देखिन्छ ।’
रामदेवको घरमा रातको करिब १२ बजेसम्म पार्टी चल्छ । सासु छाउनीले गाँउले अरबिन्द र अजयलाई २५ सय रुपैया दिने प्रलोभन दिन्छिन् । मातेर झुल भएका मिथुनलाई अरबिन्द र अजयले मिथुनलाई घर छोडिदिने बहानामा नजिकै रहेको बुढीखोलाको पुलमा लग्छन् । मातेका मिथुनलाई पुलमा नै प्लाटिकको डोरीले घाँटीमा कसेर हत्या गर्छन । हत्या पश्चात शवको ब्यवस्थापनमा जुटेका उनीहरुले खोलाको किनारमा कोदालोले खाल्डो खनेर शवलाई गाँड्छन् । त्यसपछि दुबैजना अ -आफ्नो घरतर्फ लाग्छन् ।
यता छोरा बेपत्ता भएपनि उनी आउँने आशमा रहेका बुवा जगदीशले एक हप्तासम्म बाटो हेर्छन । तर हप्तादिन सम्म छोरा नआएपछि उनी प्रहरी कार्यालय पुग्छन् । प्रहरीलाई पनि बेवारिसे शव फेला परेको सूचना पुग्छ । शवको मुचुल्कासहित डिएनए परिक्षण लगायत अन्य कानुनी प्रक्रिया पुरा गरेको प्रहरीले सनाखतका लागि प्रहरीले सूचना जारी गर्छ । प्रहरी कार्यालयमा पुगेका जगदीशले मृतकको पहिचान गरेपछि बेवारिसे शव मिथुनको भएको खुल्छ ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले घटनामा संलग्न भएको आरोपमा पाँचै जनालाई सनाखत भएको १२ घण्टा भित्रै पक्राउ गरेको जानकारी दिए । कार्कीका अनुसार पक्राउ परेकालाई कर्तब्य ज्यान सम्बन्धी मुद्धामा अदालतबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया शुरु गरिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको कोदालो समेत बरामद गरेको छ ।