

काठमाण्डौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापाले प्रहरीको कार्य सम्पादनको मूल्याङकन कानून अनरुप नै हुने बताएका छन् । बिहीबार दर्ज्यानी चिन्ह लगाएपछि पदभार ग्रहण गरेका महानिरीक्षक थापाले ऐन कानूनमा निर्दिष्ट हुँदै वरिष्ठता र तथ्याङकको आधारमा कार्य सम्पादनको मूल्याङकन हुने उल्लेख गरे ।
प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा प्रहरी अधिकृत र जवानहरुलाई निर्देशन दिदै महानिरीक्षक थापाले व्यक्तिगत स्वार्थलाई त्यागेर प्रहरी संगठनको हितका लागि एकजुट हुन आग्रह गरे । उनले भने, ‘संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना सबै एकजुट भई कार्यान्वयन गर्दै संगठनको श्रीवृद्धि गर्नका लागि सम्पूर्ण प्रहरीको सहयोग र सक्रियता आवश्यक छ ।’
थापाले समस्यासँग जुधेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्दै वर्तमान अवस्थामा नेपाल प्रहरी सामु विविध चुनौतीहरु रहेको प्रष्ट पारे । उनले आउँदो दिनमा सबै प्रहरी कर्मचारीहरुले उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिए । प्रहरीलाई प्रहरी जस्तै हुनुपर्छ भन्ने कुरामा हेक्का राख्न आग्रह गर्दै उनले प्रहरीले आफ्नो व्यवहारलाई सुधार गर्दै संगठनको सुधारका लागि ऐन, नियमको परिधिमा रहेर काम गर्न निर्देशन दिए ।
महानिरीक्षक थापाले कार्यालय प्रमुखहरुले आफ्नो मातहतका प्रहरी कर्मचारीहरुको दैनिक कार्य संचालन तथा वृत्ति विकासप्रति संवेदनशील हुन आवश्यक रहेको समेत उल्लेख गरे । उनले संगठनले लिएको उद्देश्य पूरा गर्न प्रहरी कर्मचारीहरु मानसिक एंव शारीरिक रुपमा स्वस्थ्य हुनुपर्नेमा जोड दिए । उनले प्रहरी व्यावसायिक रुपमा व्यस्त भए पनि आफ्नो परिवारलाई समय दिन सके प्रहरी कर्मचारीहरु झनै मानसिक रुपमा स्वस्थ्य हुने विचार राखे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरि बहादुर पाल लगायत प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।