विराटनगर । सामान्य बिषयमा आमालाई गालीगलौज गरेको निहुँमा १५ बर्षिय एक किशोरले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्न अभियुक्त नाबालक रहेका कारण मृतक र उनको परिवारको पहिचान भने खुलाएको छैन ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार मंगलबार पक्राउ परेका अभियुक्तलाई मोरङ जिल्ला अदालतले थप अनुसन्धान गर्न पाँच दिनको म्याद थपको अनुमति दिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तो थियो घटना
विराटनगर बस्ने मृतक ब्याक्तिको घरमा एक हप्ता अघि जेठी छोरीको बिवाहको कार्यक्रम थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बैवाहिक कार्यक्रममा आफन्तहरु पनि आएका थिए । मृतक ब्याक्ति सुत्ने गरेको कोठामा पाहुना आएकी उनको दिदीको सानो बच्चाले ओछ्यानमा पिसाब गरिदिएको बिषयले विवाद भएको थियो ।
मृतकको समेत नातामा नाती पर्ने बच्चाले असार १२ गते शुक्रबार साँझ ओछ्यानमा पिसाव गरिदिए पछि उनले पत्नीसँग विवाद गरेका थिए । मृतकको पत्नीले ओछ्यानमा भएको कपडाहरू धोएर सुकाई दिएपछि बिच्छौनाका बिषयमा पत्नीसँग विवाद भएको प्रहरीले जनाएको छ । मृतक ब्याक्तिले खाना खाएर सुत्ने बेलामा अव म कुन कपडा ओछ्याएर सुत्नु, तैँले किन ओछ्यानमा पिसाव गर्न दिइस् भन्दै पत्नीलाई गाली गर्दै कुटपिट गरेका थिए ।
आफ्नो बाबुले आमालाई कुटपिट गर्दै गरेको देखेका ती १५ बर्षिय अभियुक्त किशोरले रिसको आबेशलाई साँचेर बसेका थिए । उनले रातमा बाबुले आमालाई कुटपिट गरेको देखिएपछि त्यसको भोलिपल्ट असार १३ गते शनिबार बिहान ५ बजे बाबुमाथि बञ्चरो प्रहार गरेका थिए ।
मृतकसंगै सुतेकी पत्नी विहानपख दिशा गर्न भनि बाहिर गएको थिएन । सो मौका पारेर उनको छोराले बन्चरोले सुतिरहेको बुबाको निधारमा प्रहार गरेका थिए । बाबुलाई बन्चरो प्रहार गरि घर नजिक रहेको पोखरीमा बञ्चरो फालेर भागेका ती किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो । बन्चरो प्रहारबाट घाइते भएपछि उपचारको लागि अस्पताल लगेपनि उनका परिवारले उपचार गराउन रकम नभएपछि घाइते अबस्थामा नै घरमा ल्याएर राखेको थिए । घाइतेको असार १४ गते आइतबार साँझमा निधन भएको प्रहरीले जनाएको छ ।